सुशासन भनेको के हो र यसको तत्वहरु

सुशासन भनेको के हो ?

सुशासन त्यो शासकीय पद्धति हो जसले न्याय र शान्तिमा (Justice and Peace) आधारित शासकीय प्रणाली प्रतिवद्द सरकारको वकालत गर्दछ जसअनुरुप नागरिक अधिकार र स्वतन्त्रताको प्रवर्धन / रक्षा (Human Rights and Civil Liberties) सम्भब छ ।

स्वतन्त्र विश्वकोश “विकिपीडिया” का अनुसार राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रुपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनुलाई नै सुशासन भनिन्छ ।

सुशासनले राज्यका हरेक क्षेत्रमा दण्डहीनताको अन्त्य गर्दै कानुनी राज्यको वकालत, भ्रष्टाचारमा शुन्य सहनशीलता सहितको आर्थिक विकास, कानूनको पुर्णपालनाको सुनिश्चितता, जनमुखी एवं पारदर्शी सरकारको अपेक्षा गरेको हुन्छ ।

संयुक्त राष्ट्र संघका अनुसार सुशासनको मापन ८ वटा तत्वहरुद्वारा गरिन्छ : जनसहभागिता, विधिको शासन, पारदर्शिता, जवाफदेहिता, सहमति उन्मुख, समता र समावेशिता, कुशलता र प्रभावकारिता, र उत्तरदायित्व ।

सुशासनका मुख्य विशेषताहरु/प्रमुख तत्वहरु

सुशासनका मुख्य विशेषताहरु/प्रमुख तत्वहरु निम्न लिखित रहेका छन् :

१. जनसहभागिता (Participation) : नारी र पुरुष दुवैको सक्रिय सहभागिता सुशासनको आधारशिला हो । निर्णय प्रक्रियामा सबै जनताको आवाज सोझै अथवा बैधानिक माध्यम/ प्रतिनिधित्वद्वारा मुखरित हुनु पर्दछ । प्रतिनिधित्वपूर्ण लोकतन्त्रले मात्र सिमान्तकृत समुदायको चासो सम्बोधन गर्ने गरी निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित हुदैन । यसका लागि सहभागिता शिक्षित (Informed) र व्यवस्थित (Organized) हुनु पर्दछ । यसले एकातर्फ संगति एवं वाक स्वतन्त्रता (Freedom of Association and Expression) हुनु पर्ने तथ्य उजागर गर्दछ भने अर्को तर्फ व्यवस्थित नागरिक समाज (Organized Civil Society) हुनु पर्ने तथ्य वकालत गर्दछ ।

२. विधिको शासन (Rule of Law) : सुशासनमा कानूनी रुपरेखा/संरचना (fair legal frameworks) बिशेष गरी मानवाधिकार सम्वन्धि नीति नियमहरु स्पष्ट र भेदभावरहित रुपमा लागू हुनुपर्दछ । यसले मानवाधिकारको, बिशेष गरेर अल्पसंख्यकहरुको अधिकारको पूर्ण रक्षाको सुनिश्चितता गर्दछ । कानूनको निष्पक्ष कार्यान्वयनका निमित्त स्वतन्त्र न्यायपालिका (Independent Judiciary) र निष्पक्ष/ईमानदार सुरक्षाकर्मी (Incorruptible Police Force) हुनुपर्दछ ।

३. पारदर्शिता (Transparency) : सूचनाको स्वतन्त्र प्रवाह सुनिश्चित हुनु पर्दछ । सूचना, प्रक्रिया र संस्थाहरु सम्बन्धित सबैको सोझै पहुँचमा हुनु पर्दछ । सुशासनले सजिलै बुझिने प्रारूप र मध्यम मार्फत पर्याप्त सूचना प्रवाहको सुनिश्चितता गर्दछ ।

४. सहमति उन्मुख (Consensus Oriented) : सुशासनमा विविध स्वार्थ समूहहरुबीच सुशासन मार्फत मध्यस्थता कायम भई सर्वोत्तम विकल्प (नीतिमा, कार्यविधिमा) छान्न सहज हुन्छ । कुनै पनि समाजमा भिन्न दृष्‍टिकोण सहित पृथक/विभिन्न कर्ताहरु (Several Unique Actors) हुन्छन । सुशासनले भिन्न दृष्‍टिकोण सहितका विभिन्न समूहहरुमा मध्यस्थता मार्फत सबै सरोकारवालाहरुको हितका लागि बृहद आम सहमति र सो प्राप्तिका लक्ष्यहरुको निर्क्यौल गर्दछ ।

५. समता र समावेशिता (Equity and Inclusiveness) : सुशासनमा सबै नागरिकहरुवीच लिङ्ग,जात,भूगोल, धर्म, संस्कृति आदिका आधारमा समता कायम भई राज्यका सबै अंगहरुमा समान प्रतिनिधित्वको सुनिश्चितता हुन्छ ।

६. प्रभावकारिता र कुशलता (Effectiveness and Efficiency) : सुशासनमा मानवीय, प्रविधिगत, आर्थिक, प्राकृतिक र पर्यावरणीय सबै श्रोतहरुको समुचित प्रयोगद्वारा संस्था र कार्य प्रक्रियाहरुमा उत्तम परिणामको सुनिश्चितता हुन्छ ।

७. उत्तरदायित्व (Accountability) : सुशासनको मुख्य तत्व मध्य एक उत्तरदायित्व हो नीति निर्माणमा कुन कार्यका लागि को जिम्मेवार हुने भन्ने स्पष्ट निर्क्यौल हुनु पर्दछ ।

८. रणनैतिक दृस्टीकोण (Strategic Perspectives) : नेतृत्वमा अधिकार र दायित्व सम्बन्धि सचेतनाका साथै सुशासन र दिगो मानव विकासका सम्वन्धमा बृहद र दीर्घकालिन दृस्टीकोण हुनुपर्दछ साथै सो दृस्टीकोणमा आधारित ऐतिहासिक, सांस्कृतिक र सामाजिक जटिलता सम्वन्धि समझ हुनुपर्दछ ।

९. जवाफदेहिता (Responsiveness) : संस्था र कार्य प्रक्रियाद्वारा आम नागरिकका चासोमा निश्चित समय भित्र सम्बोधन हुनुपर्दछ ।

सुशासनका १२ सिद्धान्तहरु

सुशासनका १२ सिद्धान्तहरु निम्न लिखित रहेका छन् ।

१. जनसहभागिता, प्रतिनिधित्व,निष्पक्ष आवधिक निर्वाचनको सुनिश्चितता (Participation, Representation, Fair Conduct of Elections)
२. जवाफदेहिता
३. कुशलता र प्रभावकारिता (Efficiency and Effectiveness)
४. खुल्लापन र पारदर्शिता (Openness and Transparency)
५. विधिको शासन
६. आचार संहिता (Ethical Conduct)
७. सामर्थ्य र क्षमता (Competence and Capacity)
८. नव प्रवर्तन र परिवर्तन प्रति सकारात्मकता (Innovation and Openness to Change)
९. दिगोपन र दीर्घकालिन अनुकूलन (Sustainability and Long term Orientation)
१०. चुस्त आर्थिक व्यवस्थापन (Sound Financial Management)
११. मानवाधिकार (Human Rights), सांस्कृतिक विविधता (Cultural Diversity) र सामाजिक सम्बद्धता (Social Cohesion)
१२. उत्तरदायित्व

Comments

Popular posts from this blog

आर्थिक वृद्धि र आर्थिक विकास विच फरक

वन सम्पदा भनेको के हो ? नेपालमा वन सम्पदाको अबस्था